काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्ने आरोप हारको विछिप्त मानसिकताबाट प्रेरित रहेको बताएका छन् ।
एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले मंगलबार पत्रकार सम्मेलन गर्दै गत बैशाख २२ गते भएको एन्फा निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा समुहले व्यापक आर्थिक चलखेल गरेर निर्वाचन जितेको आरोप लगाउदै आवश्यक अनुसन्धानकालागि फिफा र एएफसीमा पत्राचार गरेको बताएका थिए ।
तर एन्फाका वर्तमान उपाध्यक्ष नेम्वाङले निर्वाचन लगायतका बिषयमा कुँवरले लगाएको आरोप निराधार रहेको बताए ।
‘आरोप निराधार छ । विछिप्त मानसिकताबाट प्रेरित भएको देखिन्छ ।’ नेम्वाङले खेलपाटीसंग भने ।
कुँवरले हिजो पत्रकारसम्मेलन गर्दै एन्फा अध्यक्ष शेर्पा समुहले निर्वाचन कमिटिलाई प्रलोभनमा पारेको, ज्यान मार्ने धम्की दिएको, मतदातालाई प्रभावित पारेको, न्यायलयलाई आर्थिक रुपमा प्रभावित पारेको र चुनावमा व्यापक अनियमितिता गरेको आरोप लगाएका थिए । उनले सबै आरोपको प्रमाण आफुसंग सुरक्षित रहेको जानकारी दिदै फिफा र एएफसीमा अनुसन्धानकालागि पेश गरिएको बताएका थिए ।
कुँवरको आरोप अस्विकार गर्दै नेम्वाङले घटनामा दोषी पाईए आफुहरु कारबाही भोग्न तयार रहेको बताए । उनले आरोप प्रमाणित गर्न कुँवरलाई चुनौती समेत दिए ।
‘फिफा र एएफसीले दोषी देखिए कारबाही गर्छ ।’ नेम्वाङले भने, ‘पत्रकारसम्मेलनमै प्रमाण पनि दिएको भए सबैलाई विश्वास हुन्थ्यो । आरोपकालागि लगाईएको आरोपको कुनै अर्थ छैन ।’
‘आफैले बनाएको निर्वाचन कमिटि, आफै उ्रम्मेद्वार अनि हामी कसरी निर्वाचनमा प्रलोभन दिएर प्रभावित पार्न सक्छौ ?’ नेम्वाङले प्रश्न गरे ।
विपक्षीको आरोप सामान्य रुपमा लिने बताउदै उपाध्यक्ष नेम्वाङले यसले एन्फाको काम कारबाही जिम्मेवार तरिकाले अघि बढाउन सचेत गराएको उल्लेख गरे ।
'विपक्षमा हुदाँ अाराेप प्रत्याराेप हुन सक्छ तर अदालतलार्इ अनियमिततामा मुछिएकाे छ । यसकाे प्रमाण अाराेप लगाउनेले सार्वजनीक गर्न पर्छ ।' उनले भने ।
गत बैशाखमा भएकाे निर्वाचनमा कुँवरले समेत अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । तर अन्तिम समयमा अाएर उनले निर्वाचनमा भाग नलिने बताएका थिए ।