धादिङ । पाँचौं राफ्टिङ तथा नवौं कायाक स्लालम च्याम्पियनसिप अन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाल राफ्ट एन्ड कायाक क्लब फिस्लिङले जितेको छ ।
स्प्रिन्टमा ९२, हेड टु हेडमा दुई सय, स्लालममा तीन सय ५० र डाउन वाटर रेसमा तीन सय २२ गरी नौ सय ६४ अंकका साथ नेपाल राफ्ट एन्ड कायाक क्लब च्याम्पियन बनेको हो ।
यसैगरी दोस्रो स्थान हात पारेको त्रिभुवन आर्मी क्लबले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ८४, स्लालममा दुई सय ६६ र डाउन वाटर रेसमा तीन सय एक गरी आठ सय ३७ अंक जोड्यो ।
तेस्रो स्थान हात पारेको प्याडल नेपालले स्प्रिन्टमा ७६, हेड टु हेडमा एक सय ५२, स्लालममा तीन सय एक र डाउन वाटर रेसमा दुई सय ८७ गरी आठ सय १६ अंक जोड्यो ।
नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपको उपाधिसँगै नेपाल राफ एन्ड कायाक क्लब फिस्लिङले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
यस्तै दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १५ हजार र तेस्रो स्थानमा चित्त बुझाएको प्याडल नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
यसैगरी नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपतर्फ सुमन तामाङ पहिलो, राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे । कायाक स्लालमतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः सात हजार, चार हजार पाँच सय र तीन हजार नगद पुरस्कार प्राप्त गरे । महिलातर्फकी एक्ली सहभागी सुष्मा कठायतलाई प्रोत्साहन स्वरुप एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै राफ्टिङमा १० टोलीले सहभागिता जनाएका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष महेन्द्र थापालगायतले पुरस्कार प्रदान गरे ।