काठमाडौं । एक समय थियो । ६० को दशकमा विभागीय टिम पुलिसले घरेलु फुटबलमा तहल्कै मच्चाएको थियो । प्रशिक्षकमा थिए, विराटकृष्ण श्रेष्ठ । उनको नेतृत्वमा पुलिसले नेपाली फुटबलमा महारथनै प्राप्त गर्यो । स्वर्णिम पुस्ताका खेलाडीले भरिएको पुलिसले लिगमात्र नभएर मोफसलको प्रतियोगितामा एकछत्र राज गर्यो ।
समय सधै एकै पक्षमा नरहने रै छ । बदलियो समयसगै पुलिसको समेत खराब दिए आए । बलिया महारथीलाई हराउने पुलिस साना क्लबसंग समेत हार्न थाल्यो । कुनै समय हार्न लागेको खेल जित्ने पुलिस अब भने जित्ने निश्चित भएको खेल समेत गुमाउन थाल्यो ।
६० को दशकको अन्तिम समय पुलिसकालागि गतिलो रहने । ओरालो लागेको पुलिस क्लबलाई प्रशिक्षक विराटकृण्णले समेत छाडे । नेपाली फुटबलका स्टार स्ट्राईकर जुमानु राई समेत ओझेल गर्दै गए । एक हिसावमा पुलिसको स्वर्णिम पुस्ता सकिने समय थियो त्यो ।
समय सधै उही नरहने रैछ । कुनै समयको बलियो महारथी पुलिस अब बिउँतने प्रयासमा छ । विराटको बहिर्गनमसंगै क्लबको जिम्मेवारी अनन्तराज थापाको नाममा आएको छ । नयाँ पुस्ताका खेलाडीको आगमनले पुलिस विस्तारै बलियो बन्दै छ । तेज तामाङ, रवि पासवान, दिनेश राजबंशी, सुमन लामा, अभिषेक रिजालको आगमनले पुलिस थप शसक्त बनेको छ ।
धेरैले अब पुलिसलाई सुतेको बाघ बिउँझन थालेको बताउने गरेका छन् ।
यस पटकको पल्सर सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली पुलिसलाई लिग च्याम्पियनको दाबेदारीको रुपमा हेरिएको छ । युवा खेलाडीले भरीएकोे पुलिसले ठुला क्लबलाई चुनौती दिएर आफ्नो पुरानो विरासत फर्काउन सक्ने धेरैको अनुमान छ ।
मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्ति भएपछि सुस्ताएको पुलिसले फेरी आफुलाई पुरानै लयमा समातेको देखाएको छ । उनको नेतृत्वमा पुलिसले पछिल्लो समय मोफसल प्रतियोगीतामा राम्रो छाप छोडेको छ ।
खेलाडी हुदाँ होस वा प्रशिक्षक अनन्त दुवै जिम्मेवारीमा सफल देखिएका छन् ।
पुलिससंग यसपटक खास खास खेलाडी छन्, जसले ए डिभिजन लिगमा उपाधि यात्राको गोरेटोलाई बदल्न सक्छन् । राष्ट्रिय टिमका डिफेन्डर दिनेश राजबंशी सहित १८ औँ एसियाडमा खेलेका ३ खेलाडीहरु सुमन लामा, अभिषेक रिजाल, तेज तामाङको साथ पुलिसलाई छ ।
यस्तै मोफसल प्रतियोगीतामा उत्कृष्ट खेल पस्केका रवि पासवान, रेजिन सुब्बा र नेपाललाई १९ वर्ष मुनिको साफ च्याम्पियनसिप जिताउन सफल भुमिका निर्वाह गरेका गोलकिपर अपर्ण कार्कीलाई पुलिसले टिममा भित्राएको छ ।
त्यस्तै यसपटक पुलिसलाई भेट्रान खेलाडी भोला सिलवालको साथ रहने छ । तर यसपटक पुलिसलाई राष्ट्रिय टिमका डिफेन्डर रविन श्रेष्ठको कमी पक्कै महशुश हुनेछ । राम्रो प्रदर्शन गर्दै आएका श्रेष्ठ खुट्टाको चोटको कारण यसपटक लिगमा रहने छैनन् ।
पुलिसले विगतको झै लिगको तयारी २ महिना अगाडीबाटै गर्दै आएको छ ।
युवा खेलाडीको साथ र योजना अनुसारको खेलले लिगमा पुलिस पहिलो उपाधिको दाबेदार बन्ने अनन्तको दाबी छ ।
‘टिम राम्रो छ । मोफसलमा केटाहरुले राम्रो खेल खेलेका छन् । युवा टोलीले भरिएको टिम छ । यसपटक हाम्रो लक्ष्य भनेको लिग च्याम्पियन हुने हो ।’ उनले भने ।
अनन्त थापाको नेतृत्वमा रहेको पुलिस क्लबमा खेलाडी नामावली :
गोलकिपर : अर्पण कार्की, रोशन खड्का, शत्रु चौधरी ।
डिफेन्डर : अजित भण्डारी, दिनेश राजबंशी, विक्रम धिमाल, बुद्ध तामाङ, सुरज घिमिरे, अर्विन चहल, मान बहादुर परियार, सन्तोष हेमरुङ ।
मिडफिल्डर : भोला सिलवाल, हेम तामाङ, तेज तामाङ, अभिषेक रिजाल, दिनेश गुरुङ, रवि पासवान ।
स्ट्राइकर : सुमन लामा, रेजिन सुब्बा, भरत शाह, हरी कठायत, निरकुमार राई, तिर्थ बहादुर राना ।