काठमाडौं । नेपाल पुलिस क्लबका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले पल्सर सहिद स्मारक ए डिभिजन लिग गुमाउने भएका छन् । घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताए ।
पुलिस क्लबले असोज १३ बाट सुरु हुने लिगकालागि एन्फामा बुझाएको अन्तिम खेलाडी नामावलीमा रविनको नाम अटाएको छैन । एएफसी एसियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा चोट बोकेका उनी मैदान बाहिर रहेका थिए ।
पछिल्लो समय पुनः १८ औँ एसियन गेमको तयारीकालागि थाइल्याण्ड यु–२३ टिमसँगको खेलमा चोटको समस्या बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका थिए ।
रविन श्रेष्ठका अनुसार बुधबार ग्राण्डी अस्पतालमा उनको एमआरआई हुनेछ । उनलाई अहिले बरिष्ठ चिकित्सक चक्रराज पाण्डे हेरिरहेको छन् ।