काठमाडौं । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामामा नेपालले सहभागिता जनाउने निश्चित भएपछि सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका फेरबदल हुने भएको हो ।
आयोजक बंगलादेश फुटबल फेडेरेशनले अन्तिम समयमा आएर पुरस्कार रकम उपलब्ध गराएपछि अखिल नेपाल फुटबल संघ एन्फाले लिग तालिका फेरबदर गरेर भएपनि बंगबन्धु प्रतियोगिता खेल्ने निर्णय गरेको हो ।
पुरस्कार रकम नपाउदा प्रतियोगिता खेल्ने\नखेल्नेमा एन्फाले निर्णय गर्न सकेको थिएन । बंगलादेशी फुटबल संघले करिब २५ लाख रुपैयाँको पुरस्कार रकम एन्फाको खातामा राखिदिएपछि आगामी असोज १५ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने पक्का भएको हो ।
एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले नेपालले बंगबन्धु खेल्ने भएपनि ए डिभिजन लिगको उद्घाटन खेल निर्धारित मिति र समयमा हुने खेलपाटीलाई बताए ।
‘उद्घाटन खेल निर्धारित मितिमै हुन्छ । अन्य खेलको मिति परिवर्तन हुन सक्छ ।’ उनले भने ।
सोही बिषयमा निर्णय गर्न एन्फाले आज दिउँसो लिग कमिटिको बैठक बोलाएको छ । महासचिव इन्द्रमान तुलाधरले लिग कमिटी र एन्फाबीच अपरान्ह बैठक बसेर आवश्यक निर्णय लिने बताए ।
‘लिगलाई बंगबन्धुको प्रतियोगिता अवधिभर रोक्ने कि फेरी तालिकालाई परिमार्जन गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले भने ।
प्रतियोगिताको नयाँ संस्करणको खेल तालिका अनुसार नेपाल समूह ए मा रहेको छ । नेपालले पहिलो खेलमा ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।