काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा फुटबल विकासमा सरकारी लगानी आवश्यक रहेको बताएका छन् ।
खेलपाटीसंग कुरा गर्दै एन्फा अध्यक्ष शेर्पाले फुटबल विकासका लागि सरकारले पुर्वाधार सहित थप लगानी गर्नुपर्ने बताएका हुन् ।
‘फुटबल व्यवसायीक बनाउन सरकारले लगानी गर्न आवश्यक छ । रंगशाला सहितका पुर्वाधार निर्माणको काम सरकारको हो । यसले मात्र फुटबलको थप विकास हुन्छ ।’ उनले भने ।
नेपालले सोमबार बंगलादेशलाई हराउँदै थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । शेर्पा एन्फाको नेतृत्वमा आएपछि नेपाली फुटबलले पहिलो पटक अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
एन्फाले विजेता खेलाडीको सम्मानमा जनही १ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
अध्यक्ष शेर्पाले नेपाली फुटबललाई सहि दिशामा लैजान समय लाग्ने बताए । उनले फुटबलमा धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै पछिल्लो उपाधि सफलताले एन्फाले चालेका कदम सहि दिशातर्फ उन्मुख रहेको देखिएको बताए ।
‘सबैको सामुहिक जोड र पुरै टिमको योगदानबाट सफलता हात लागेको हो । यसले काम गरेपछि फल पनि पाउँछ भन्ने देखिएको छ ।’ उनले भने ।
उनले घरेलु लिगलाई सबल बनाउन नसक्दा सम्म फुटबल विकास नहुने बताए ।
अध्यक्ष शेर्पाले फुटबल विकासका लागि घरेलु लिगलाई लामो र राम्रो बनाउन आवश्यक रहेको बताए ।
‘जब सम्म लिगलाई लामो र राम्रो बनाउन सकिदैन । खेलाडीलाई ३–४ महिना क्याम्पमा राखेर फुटबल विकास हुदैन । व्यवसायीकता हुदैन ।’ उनले भने, ‘लिगलाई लामो बनाउन सकेमात्र फुटबल विकास हुन्छ । यसमा सरकारले लगानी गर्न आवश्यक छ ।’
शेर्पाले वर्तमान घरेलु लिग फुटबललाई लामो समय लैजान आर्थिक भार थपिने बताउँदै त्यसका लागि सरकारको लागनी आवश्यक रहेको बताए ।
‘अहिलेको बजेटले लामो समय लिग लैजाने अवस्था छैन । त्यसका लागि फुटबल व्यवसायीक बनाउन सरकारले लगानी गर्न आवश्यक छ ।’ उनले थपे ।
एन्फा अध्यक्ष शेर्पाले क्लब फुटबल लामो समय भएको खण्डमा मात्र खेलाडी राम्रो हुने बताए ।
उनले लामो समय राष्ट्रिय फुटबल टिमको क्याम्प राख्ने प्रचलन गलत भएको जिकिर गरे ।
‘लामो समय क्याम्पमा खेलाडी राख्नेनै हैन । लामो समय क्लब खेल भएको खण्डमा मात्र खेलाडी राम्रो हुन्छ ।’ उनले भने ।
‘एन्फाले चालेको कदम सहित दिशामा छ । ग्रासरुट, क्लब फुटबलका कार्यक्रम चलिरहेका छन् । यसले विस्तारै फुटबलमा नतिजा दिदै जान्छ ।’ उनले थपे ।