काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा भएको पिपलनेटा प्रथम खुल्ला भलिबल प्रतियोगितामा आयोजक पिपलनेटा बजार व्यवस्थापन समितिकाे बी टिमले विजय सुरुवात गरेको छ ।
पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियाेगितामा प्रगतिशील क्लब युप्ठानलाई आयोजककाे बी टिमले २–० को सोझो सेटमा हराएको हो ।
आयोजक बी टिमले प्रगतिशील क्लबविरुद्ध २५–२२ र २५–१९ को सेटमा जित निकाल्यो ।
यस्तै, शुक्रबारकाे अन्तिम खेलमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीले सरुमारानी युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्यो ।
सन्धिखर्कले सरुमारानी क्लबविरुद्ध २५–८ र २५–१८ को सेटमा जित दर्ता गर्यो ।
प्रतियोगितामा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष पृथ्वी थापाले राष्ट्रिय रेफ्री खुम गाउँले र चित्र गुरुङलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।
खुल्ला भलिबल प्रतियोगितामा १८ टिमको सहभागिता छ ।
प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
विजेताले ५१ हजार, उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले २१ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी तथा अनुशासन खेलाडीले समान ३ हजार ५ सय पाउनेछन् ।