काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ ।
नेपाल ब्याडमिन्टन संघले चैत १५ देखि १८ गते सम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा सरेको जनाएको छ ।
संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठका अनुसार अब च्याम्पियनसिप बैशाख ४ देखि ८ गते सम्म हुनेछ ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गर्ल्स यू- १७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
र्याङ्किङ्ग प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसँग आबद्द जिल्ला ब्याडमिन्टन संघ र आबद्द हुन बाँकी जिल्ला, बिभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।
करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
युगल तर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यू-१७ ब्वाईज तथा गर्ल्सका शीर्ष तीन बिजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
बिश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाईने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरीयता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ ।
यू-१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन् । कोटामा परेका प्रत्येक खेलाडी, प्रशिक्षक र ब्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटा भन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकले खान बस्ने ब्यवस्था आफु स्वयंले गर्नु पर्नेछ ।