काठमाडौं । प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक रातो र गल्कोट बाग्लुङबीच प्रतिस्पर्धा हुने भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा न्युटन स्कुललाई ३-२ को सेटमा पराजित गर्दै आयोजक रातो उपाधि नजिक पुगेको हो ।
फाइनल प्रवेश गर्ने क्रममा आयोजक रातोले न्युटनमाथि २५-२०, १७-२५,२६-२४,२५-२३ र १५-९ को सेटमा जित निकालेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा गल्कोटले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
गल्कोटले मणिमुकुन्दमाथि २५-२२,१९-२५,२५-१६ र २५-२३ को जित निकाल्यो ।
फाइनल खेल सोमबार हुनेछ । यस्तै तेस्रो स्थानको लागि न्युटनले मणिमुकुन्दसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।