पोखरा । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने उदेश्यले पोखरामा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
मालेपाटन क्रिकेट क्लबको आयोजनामा चैत दोस्रो साताबाट क्रिकेट प्रतियोगिता हुने भएको हो ।
पोखरा महानगरपालिका मालेपाटनस्थित बाराही माविको खेल मैदानमा हुने प्रतियोगिता चैत १३ देखि १६ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिता संयोजक बिनय सुवेदीले क्रिकेटसँगै रंगशाला निर्माणमा विकास पुर्याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
उनले उक्त प्रतियोगिता सहयोगको लागि रहेको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई मेडल तथा प्रमाणपत्र सहित १३ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताबाट सर्बोत्कृष्ट बन्ने खेलाडीलाई ट्रफी, मेडलबाट पुरस्कृत गरिने बताए । उनका अनुसार विधागत तर्फ उत्कृष्ट व्याट्सम्यान र बलरलाई प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिनेछ ।