धनगढी । हिमालयन ह्वाईट हाउस स्कुलले चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि जितेको छ ।
आयोजक स्कुल लिटिल फ्लावरलाई ८० रनले पराजित गर्दै काठमाडौंको ह्वाईट हाउसले उपाधि जितेको हो ।
उपाधि सहित ह्वाईट हाउसले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता टोलीले ६० हजार रुपैयाँमा चित्त बुझायो ।
धनगढीको एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाईट हाउसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
गजेन्द्र बोहराले ७० रन बनाएको ईनिङ्समा प्रतिस जिसीले २१ र शतिस यादवले १९ रन बनाएका थिए ।
लिटिल फ्लावरका राजकुमार साहले सर्वाधिक ५ विकेट लिए । मनोज चुनारा, नरेन भट्ट, पुष्कर बढुले एक एक विकेट हात पारे ।
जवाफी ब्याटिङ्गमा उत्रिएको घरेलु टोली १७ ओभर ३ बलमा ८७ रनमा समेटियो । उसका लागि निशान्त बुढाएरले सर्वाधिक १७ रन बनाए । पुष्कर राज बढुले अविजित १४ र अनुराग सिंहले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ह्वाईट हाउसका प्रतिस जिसीले सर्वाधिक ३ तथा स्वरुप श्रेष्ठले २ विकेट लिए । गजेन्द्र बोहरा, कुशल रुपाखेती, सन्दीप शाही र दिपक बोहराले एक एक विकेट हात पारे ।
गजेन्द्र खेलका म्यान अफ दी म्याच घोषित भए । दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान र सन्दीप जंग शाही प्रतियोगिताका उत्कृष्ट बलर चुनिए ।
विधागत तर्फका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गरे ।