काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
टियु क्रिकेट मैदानमा उपाधिका लागि दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । विभागीय डर्बी भिडन्त बिहान ८:४५ बजे सुरु हुनेछ ।
पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछन् ।
एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ उपाधि जित्नेमा विश्वस्त समेत देखिएका छन् ।
'फाइनलको तयारी राम्रो छ । उपाधि जित्छौं भन्नेमा कन्फिडेन राम्रो छ,' एपीएफका कप्तान शरदले प्रि-म्याच कन्फरेन्समा भनेका भनेका छन्,'पुलिस पनि राम्रो छ । तर, यस अघि जितेकाले फाइनल पनि जित्छौ जस्तो लागेको छ ।'
एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।
पुलिस भने ४ खेलमा ३ जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
पुलिस एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्न चाहन्छ ।
'तयारी राम्रो छ । हामी कस्तो खेल्छौ भनेर अहिले भन्न सक्दैनौं । किनभने हामी जे गर्छौ मैदानमा खेल्छौं,' पुलिसका कप्तान मन्जितले भने, 'प्रतियोगिताका पछिल्लो खेलहरुमा टिमले राम्रो खेलीरहेका छन् । आश छ हामी जित्छौ ।'
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।