काठमाडौं । पब्लिक युथ क्याम्पस (पीवाईसी) ले पीवाईसी इन्टर कलेज टीयु बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा केसीएमआईटीलाई ९ विकेटले पराजित गर्दै पब्लिक युथ च्याम्पियन बनेको हो ।
मुलपानी क्रिकेट मैदानमा केसीएमआईटीले दिएको १ सय ११ रनको लक्ष्य पब्लिक युथले १३ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
पब्लिक युथको जितमा इर्साद अलिले अविजित रहदै ४९ रन बनाए । रन्जन प्रसाई ३१ रनमा अविजित रहे । सन्देश रेग्मी २१ रनमा आउट भए ।
केसीएमआईटीका अमृत कार्कीले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको केसीएमआईटीले २० ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
केसीएमआईटीका लागि अमितले सर्वाधिक ३७ रन बनाए । अमृत कार्कीले ३२ तथा अमित मण्डलले अविजित २१ रन बनाए ।
पब्लिक युथका नरेश थापा, सन्देश रेग्मी र दिवस भट्टराईले १/१ विकेट लिए ।
उपाधिसँगै पब्लिक युथले ८५ हजार प्राप्त गर्दा उपविजेता केसीएमआईटीले ३५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सुशान्त सिंह दनुवार चुनिए । सुशान्त उत्कृष्ट ब्याट्सम्यान समेत बने ।
यस्तै उत्कृष्ट बलरको अवार्ड सन्देश रेग्मीले प्राप्त गरे ।
पब्लिक युथ क्याम्पसको आयोजना र चन्द ब्रोदर्स प्राइभेट लिमिटेडको संयोजकत्वमा जारी प्रतियोगितामा १७ वटा बीबीए कलेजको सहभागिता रहेको छ ।