धनगढी । लिटल फ्लावर स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्भरबार भएको दोस्रो सेमिफाइनलमा बाल बाटिका विद्या मन्दिरलाई ३ विकेटले पराजित गर्दै लिटल फ्लावर उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि लिटलले हिमालयन ह्वाइट हाउस स्कुलसँग खेल्ने छ ।
पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनल पुगिसकेको छ ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको बाल बाटिकाले १६ ओभर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।
उसका बिराट सिंह भण्डारीले २९ रन बनाए । कमल ओलीले २२ रन बनाए । लिटलका पुस्कर राज बढुले ४ विकेट लिए ।
बाल बाटिकाले दिएको ९० रनको लक्ष्य लिटल फ्लावरले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
लिटलका राजकुमार साहले अविजित २४ रन बनाए ।
बाल बाटिकाका कमल ओलीले ५ विकेट लिए ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।