काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८:४५ बजे सुरु हुनेछ ।
पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।
एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ उपाधि जित्नेमा विश्वस्त छन् ।
फाइनल अघि शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए ।
'फाइनलको तयारी राम्रो छ । उपाधि जित्छौं भन्नेमा कन्फिडेन राम्रो छ,' एपीएफका कप्तान शरदले भने,'पुलिस पनि राम्रो छ । तर, यस अघि जितेकाले फाइनल पनि जित्छौ जस्तो लागेको छ ।'
एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।
तर, फाइनलमा एपीएफलाई चोटग्रस्त खेलाडीले सताउने छ ।
'टिममा इन्जुरी छ । तरपनि अन्तिम खेल भएकाले त्यस्तो अफ्ठ्यारो छैन,' शरदले भने, 'मैदान मुलपानीको जस्तो छैन । रन बनिरहेको छ। त्यसैले जस्ले राम्रो ब्याटिङ गर्छ उसले उपाधी जित्ने चान्स बढि छ ।'
पुलिस भने एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्न चाहन्छ ।
'तयारी राम्रो छ । हामी कस्तो खेल्छौ भनेर अहिले भन्न सक्दैनौं । किनभने हामी जे गर्छौ मैदानमा खेल्छौं,' उनले भने, 'प्रतियोगिताका पछिल्लो खेलहरुमा टिमले राम्रो खेलीरहेका छन् । आश छ हामी जित्छौ ।'
मन्जितले समेत आफ्नो टिममा चोटग्रस्त खेलाडी रहेको बताए ।
'टिममा २/४ जना चोट बोकेका खेलाडी छन् । तर, तिनीहरुले आफू इन्जर्ड छौ भन्ने केही देखाएका छैनन्,' हामिले खेलाडीलाई यस्तो गर भनेर दबाब दिएका छैनौ । उनीहरुलाई आफ्नो तरिकामा खेल भनेर भनेका छौ। मेरो टोलिका खेलाडी लामो इनिङ्स खेल्न नसकेपनि औसतमा राम्रै खेलेका छन् ।'
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।