काठमाडौं । भोजपुरकी नङ्शल देवी तामाङ र पाँचथरका दिवस शंकरले प्रदेश-१ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
भोजपुर सदरमुकाममा शनिबार सम्पन्न प्रतियोगितामा नङ्शल महिला एकल र दिवस पुरुष एकलमा च्याम्पियन बनेका हुन् ।
महिलातर्फको फाइनलमा सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजवंशीले खेल त्यागेपछि नङ्शल च्याम्पियन बनेकी हुन् । अस्वस्थ भई सिमाले खेल छाड्नु अघि नेपाल नम्बर एक रहेकी नङ्शलले २१-१८, १८-२१ र १५-२ को अग्रता बनाएकी थिइन् ।
उपाधिसँगै नङ्शलले २० हजार प्राप्त गर्दा उपविजेता बनेकी सिमाले १० हजार प्राप्त गरिन् । तेस्रो हुनेले ५ हजार प्राप्त गरे ।
पुरुष एकल तर्फको फाइनलमा दिवसले आफ्नै जिल्लाका एशिया जवेगुमाथि संघर्षपूर्ण जित निकाले। दिवसले एशिया माथि २२-२०, १९-२१ र २२-२० को सेटमा जित निकाल्दै उपाधि चुमेका हुन् ।
उपाधिसँगै दिवसले २५ हजार प्राप्त गरे । उपविजेता बनेका एशियाले १५ हजार पाउँदा तेस्रो हुनेले ७ हजार ५ सय प्राप्त गरे ।
पुरुष युगलतर्फको उपाधि भोजपुरका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले हात पारे ।
रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१-८ को सहज जित निकाल्दै उपाधि उचालेका हुन् ।
उपाधिसँगै उनीहरुले ५० हजार प्राप्त गरे । उपविजेता बनेको टिमले ३० हजार र तेस्रो हुनेले १५ हजार प्राप्त गरे ।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको गर्ल्स यू-१७ तर्फ मोरङ्गकी रोज पाण्डेले उपाधि जितिन् ।
रोजले फाइनलमा सुनसरीकी सृष्टी चाम्लिङ राईलाई २१-१२, २१-१७ ले प हराइन । रोजले उपाधिसँगै १५ हजार प्राप्त गर्दा सृष्टीले ८ हजार प्राप्त गरिन् ।
ब्वाईज तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङए उपाधि जिते । उनले सुनसरीका सत्यम सुब्बा माथि २१-१०, २३-२१ को कठिन जित निकाले । भोजले नगद १५ हजार प्राप्त गर्दा सत्यमले ८ हजार प्राप्त गरे ।
यू-१३ गर्ल्समा निमा तामाङले उपमाम खड्कालाई २२-२०, २१-१८ ले पराजित गर्दै उपाधि सहित ५ हजार प्राप्त गरिन् । खड्काले नगद ३ हजार प्राप्त गरिन् ।
ब्वाईजतर्फ मिबुङ राईले उपाधि जिते । उनले तयाबुङ्ग राईलाई २१-१४, २१-१९ ले हराए । विजेताले ५ हजार र उपविजेताले ३ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजयी खेलाडीहरुलाई प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, पौवा गुम्बाका अध्यक्ष किरण राई, प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए ।