काठमाडौं । पाँचथरका दिवस शंकर र भोजपुरकी नङ्शल देवी तामाङ भोजपुरमा जारी प्रदेश-१ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष एकलतर्फ शुक्रबार भएको सेमिफाइनलमा भोजपुरका विवेक श्रेष्ठलाई हराएर दिवसले फाइनल यात्रा तय गरेका हुन् । दिवसले विवेकमाथि २१-१९ र २१-८ को सेटमा जित निकाले ।
अब दिवसले उपाधिका लागि आफ्नै जिल्लाका एशिया जवेगुसँग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले संखुवासभाका पविन लिनथेपमाथि १५-२१, २१-८, २१-१७ को जित निकाले ।
महिला एकलतर्फ सुनसरीकी सृष्टी चामलिङ राईलाई २१-९, २१-८ ले पराजित गर्दै नङ्शल उपाधि नजिक पुगेको हुन् ।
नङ्शलले उपाधिका लागि सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजबंशीसँग प्रतिस्पर्धा गर्ने छिन् ।
सिमाले सेमिफाइनलमा मोरङकी रोज पाण्डेलाई २१-१२, २१-१३ ले पराजित गर्दै नङ्शलसँगको भेट पक्का गरेकी हुन् ।
पुरुष युगल तर्फको प्रतिस्पर्धामा भोजपुरका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी फाइनलमा प्रवेश गरेको छ । नविन र रत्नको जोडीले झापाका प्रनिश सिंह ठकुरी र सुनसरीका सुजन श्रेष्ठको जोडीलाई २१-१९, २२-२०ले पराजित गरे ।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजुपर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको अर्को खेलमा संखुवासभाका पविन लिनलेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीले सुनसरीका प्रकास लिम्बु र सत्यम सुब्बाको जोडीमाथि १०-२१, २१-१५, २१-१२ को जित निकाल्दै फाइनलमा स्थान बनाए ।
यू-१७ ब्वाईज एकल प्रतिस्पर्धामा सुनसरीका सत्यम सुब्बाले जित निकाल्दै फाइनल यात्रा तय गरे । उनले खोटाङका सनम राईलाई २१-८, २१-८ ले पराजित गरे ।
यस्तै अर्को खेलमा चोदण्डीगढीका बिनय चौधरीले रिटायर्ड हर्टका कारण प्रतिस्पर्धा त्यागे पछि ईटहरी ब्याडमिन्टन एकेडेमीका भोजबहादुर गुरुङ फाइनल प्रवेश गरे ।
गर्ल्सतर्फ मोरङ्गकी रोज पाण्डे र सुनसरीकी सृष्टी चामलिङ्ग राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । रोजले चौदण्डीगढी नगरपालिका, बेलटारकी रोजी राईलाई २१-१२, २१-९ ले तथा सृष्टीले पनि चौदण्डीगढी नगरपालिकाकी स्मृती राईलाई २१-७, २१-१० ले पराजित गरे ।
गर्ल्स १३ तर्फको खेलमा उपमा खड्का र निमा तामाङ फाइनल प्रवेश गरे । ब्वाईज तर्फ तयाबुङ्ग राई र मिबुङ्ग राईले फाईनलमा प्रतिस्पर्धा गर्ने छन् ।