नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल स्थगित भएको छ ।
छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा मार्च ३० (चैत १७) गते खेल्ने तालिका रहेको थियो ।
तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित गरेको हो ।
अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएको छ । अष्ट्रेलियाका खेलाडीहरु युरोपको विभिन्न क्लबबाट खेलिरहेका छन् ।
तर, युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको पुष्टि गरे ।
'अष्ट्रेलियाको अनुरोधपछि एएफसीले खेल स्थगित गरेको छ,'अध्यक्ष शेर्पाले भने, 'कोरोनाको महामारीको कारण ट्राभलमा लगाईएको प्रतिबन्धको कारण अष्ट्रेलियाले एएफसीलाई स्थगित गर्न निवेदन गरेको थियो । किनकी अष्ट्रेलियाका खेलाडीहरु युरोपको विभिन्न क्लबमा खेल्ने गर्छन् ।'
स्थगित खेल आगामी जुनमा हुनेछ ।
छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ ।
नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
एएफसीले नेपाल र ताइपेबीचको खेल यस अघि नै स्थगित गरिसकेको छ ।
समूह 'बी' मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।
चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
एएफसीले स्थगित भएको छनोटको बाँकी खेल एकै भेन्युमा गर्ने तयारी समेत गरेको छ ।