काठमाडौं । अकी जुवेन रावत र सोन्जा टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् ।
यू–१६ सिंगल्सको ब्वाइजमा अकी र गर्ल्समा सोन्जा पहिलो भएका हुन् ।
धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ (५) तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे ।
टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको यू–१२ ब्वाइज सिंगल्स फाइनलमा दर्शिल श्रेष्ठले श्रृजन भट्टराईलाई ६–३ र ७–६ (५) ले हराउदै पहिलो भए । सोही स्पर्धाको गर्ल्स फाइनलमा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–२ र ७–५ ले पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् ।
ब्वाइज यू–१४ मा अराभसम्राट हाडाले स्वर्ण जिते । उनले एकपक्षीय फाइनलमा सक्षम शाहमाथि ६–० र ६–० को सहज जित दर्ता गरे । त्यसै स्पर्धाको गर्ल्स फाइनलमा सुनिरा थापाले प्रशंसा मोक्तानलाई ७–५ र ६–२ ले निराश पार्दै पहिलो भइन् ।
ब्वाइज डबल्स फाइनलमा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आयुशमान घले र स्लोक खड्काको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पाखा लगाउदै पहिलो बने ।
उक्त स्पर्धाको गर्ल्स फाइनलमा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले इभा अधिकारी र आइशा गुरुङको जोडीलाई ६–२ र ६–३ को नतिजामा पराजित गर्दै पहिलो स्थान हात पारे ।