एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा रुसका अस्लान करातसेभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
साविक विजेता समेत रहेका जोकोभिचले अस्लानलाई ६-३, ६-४ र ६-२ को सेटमा पराजित गरे ।
जोकोभिच नवौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका हुन् ।
अब फाइनलमा जोकोभिचले ग्रीसका स्टेफानोस टित्सीपास र रुसका डेनील मेदभेदेबबीचको विजेतासँग खेल्ने छन् ।
महिलातर्फ जापानी खेलाडी नाओमी ओसाका फाइनलमा प्रवेश गरेकी छिन् ।
अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेकी हुन् ।
तेस्रो वरीयताकी ओसाकाले दशौँ वरीयता प्राप्त सेरेनाविरुद्ध ६-३ र ६-४ को सेटमा जित निकालिन ।
अब ओसाकाले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग खेल्ने छिन् ।