एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा एलेक्सजेन्डर जेभरेभलाई हराउँदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
साविक विजेता समेत रहेका जोकोभिचले छैटौं वरियताका जेभरेभलाई ६-७(६-८),६-२, ६-४ र ७-६ (८-६) को सेटमा पराजित गरे ।
अब जोकोभिचले सेमिफाइनलमा रुसका अस्लान करातसेभसँग खेल्नेछन् ।
महिलातर्फ पूर्व विश्व नम्बर एक सेरेना विलियम्स सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
क्वाटरफाइनलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले दोस्रो वरियताकी हालेपमाथि ६-३ र ६-३ को सेटमा जित निकालिन ।
३९ वर्षीय सेरेनाको यो ४० औं ग्राण्डस्लाम सेमिफाइनल हो ।
अब सात पटकको च्याम्पियन सेरेनाले सेमिफाइनलमा जापानी खेलाडी नाओमी ओसाकासँग खेल्ने छिन् ।