काठमाडौं । एपीएफ क्लबकी जेशिका गुरुङले योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत महिला एकलतर्फको उपाधि जितेकी छिन् ।
चितवनमा शनिबार भएको फाइनलमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै जेशिका च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा जेशिकाले रशिलामाथि २१-१८, १७-२१ र २१-१७ को सेटमा जित निकालिन् ।
उपाधिसँगै जेशिकाले १ लाख १५ हजार प्राप्त गरिन् । रशिलाले ५५ हजार प्राप्त गरिन् ।
२० औं वरीयता भित्रका खेलाडीहरुबीचको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी च्याम्पियन बने ।
फाईनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१-११, २१-१५ ले पराजित गरे ।
सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा च्याम्पियन बने । महर्जन र लिनथेपको जोडीले फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१-१५, २१-१९ ले पराजित गरे ।
ब्वाईज यू-१७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१-१७, २१-१६ ले पराजित गर्दै उपाधि उचाले । गर्ल्स तर्फ भने सेनाकी रशिला महर्जनले उपाधिमा कब्जा जमाईन् ।
यस्तै ५५ वर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि चुमे ।
पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडी च्याम्पियन बनेका छन् ।