सावित्राको ह्याट्रिकमा एपीएफ अपराजित

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।
शनिबार भएको खेलमा वालिङ नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले जितको यात्रालाई कायम राखेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन् ।
यस्तै प्रिती राईको नाममा एक गोल रह्यो ।
बलियो टिम वालिङविरुद्ध एपीएफले सातौं मिनेटमा सावित्राको गोलबाट अग्रता बनाएको थियो ।
खेलको १६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन् । सावित्राले क्यामरुनी डिफेन्डर कोइनेग्ने र गोलरक्षक सावित्री किशनलाई बिट गर्दै सहजै गोल गरिन् ।
खेलको २० औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् ।
पहिलो हाफको इन्जुरी समयमा परिवर्तित खेलाडी प्रितीले गोल गरेपछि पहिलो हाफमा एपीएफ ४-० ले अघि रह्यो ।
दोस्रो हाफमा एपीएफले थप दुई गोल गर्यो ।
खेलको ६४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो चौंथो गोल गरेपछि एपीएफले ५-० को अग्रता बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै एपीएफलाई ६-० को सहज जित दिलाईन् ।
यस जित एपीएफको लगातार नवौं जित हो । यस्तै वालिङमाथि एपीएफको यो लगातार दोस्रो जित हो ।
यस अघिको खेलमा एपीएफले वालिङलाई ३-० ले हराएको थियो ।
जितसँगै एपीएफले ९ खेलमा २७ अंक जोडेको छ ।
एपीएफ अपराजित रहने एक्लो टिम हो ।
वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले विपक्षी गोलरक्षक बलियो भएकाले धेरै गोल गर्न नसकिएको बताईन् ।
'गोल अनुसार खेल राम्रो भयो। उनीहरुको केहि व्यक्तिगत खेलाडी बलियो हुँदा गार्हो भयो । हामीलाई डिफेन्स र मिडफिल्डमा कठिन भयो,' उनले भनिन्, 'विदेशी खेलाडीले राम्रो खेल्दा हामीलाई दबाब भयो । विपक्षी गोलरक्षकले राम्रो खेल्यो । जसले गर्दा धेरै गोल भएन ।'
वालिङका दिपक थापाले टिमले सक्ने राम्रो प्रदर्शन गरेको बताए ।
'नानी (खेलाडी) हरुले सकेको खेलेको हो । तर, आजको भन्दा नि अब आउने दुई खेल महत्त्वपूर्ण छ । त्यसैमा ध्यान दिन आग्रह गरेको छु । चोटका कारण गोलरक्षकको प्रदर्शन चित्तबुझ्दो भएन,' उनले भने ।