सुरोज र पविनको जोडी फाइनलमा
काठमाडौं । सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको सेमिफाइनलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडी माथि २१-१७, २१-१५ को सोझो सेटको जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।
अब महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीसँग खेल्ने छन् ।
नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ र बिशाल खड्काको जोडीलाई १५-२१, २१-१९, २१-१८ को सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ५५ वर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि नजिक पुगेका छन् ।
चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१-८, २१-११ को जित निकाले । अब उक्त जोडीले फाइनलमा बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछ ।
शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१-१०, २१-७ ले पराजित गरे ।