अभिषेक भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर अभिषेक रिजाल भारत प्रस्थान गरेका छन् ।
पहिलो पटक भारतीय आईलिग खेल्न लागेका अभिषेक शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अभिषेक झापा भद्रपुर हुँदै कोलकाता पुग्ने कार्यक्रम रहेको छ ।
गत हप्ता उनी आई लिग क्लब आईजवाल एफसीसङ यस सिजनका लागि लोनमा अनुबन्ध भएका थिए ।
यस अघि उनले मोहम्मेडन स्पोर्टिङ क्लबबाट खेल्दै टोलीलाई आई लिगमा छनोट गराएका थिए । तीन वर्षका लागि क्लबमा अनुबन्धन भएका अभिषेक यस सिजनका लागि आईजवाल पुगेका हुन् ।
'पहिलो अवसर हो । आई लिग खेल्न पाउँदा हर्षित छु । प्लेईङ सेटमा रहेर खेल्न मेहनत गर्छु,' भारत प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलपाटीसँग अभिषेकले भने ।
पोखरामा राष्ट्रिय टोलीसंगको अभ्यासमा व्यस्त अभिषेक तीन दिन अघि राजधानी आएका थिए । उनी फिफा विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँगको खेलका लागि क्लोज क्याम्पमा रहेका थिए ।
अब उनी खेल अघि मात्रै टोलीमा सामेल हुनेछन् । हाल राष्ट्रिय टोलीका कार्यबाहक कप्तान किरण चेम्जोङ समेत पन्जाब एफसीमा आबद्ध छन् ।
अभिषेक भारतीय आईलिग खेल्ने नेपाली युवा खेलाडी समेत हुन् । उनले पाएको अवसर सदुपयोग गर्दै टोलीलाई उपाधी दिलाउन खेल्ने बताए ।
'युवा खेलाडीको रुपमा लिगमा सहभागी जनाउदै छु । पहिला सेटमा खेल्न र त्यसपछि टोलीलाई उपाधी दिलाउने नै मुख्य लक्ष्य हुनेछ,' राष्ट्रिय फुटबल टोलीका लागि एक गोल गरेका अभिषेकले भने ।
अभिषेक सम्मिलित आईजवाल एफसी आठौ स्थानमा छ । ६ खेल खेलेको उसको २ जित दुई हार दुई बराबर सहित ८ अंक रहेको छ ।