काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।
एपीएफ क्लबका प्रिन्सले शुक्रबार सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
अब प्रिन्सले सेमिफाइनलमा भोजपुरका पूर्व नम्बर एक खेलाडी विकास श्रेष्ठसँग खेल्ने छन् ।
विकासले शुक्रबार नै एपीएफका प्रफुल महर्जनमाथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए ।
यस्तै सेनाका नविन श्रेष्ठ र एपीएफकै दीपेश धामी अन्तिम चारमा पुगेका छन् ।
नविनले धादिङ्गका सुदीप सेढाईलाई २१-६ को समान अन्तरले र नम्बर दुई स्थानमा रहेका राष्ट्रिय च्याम्पियन धामीले सेनाका रुकेश महर्जन माथि २१-११, २१-१० को सोझो सेटमा पराजित गर्दै नविनसंगको भेट पक्का गरेका हुन् ।
चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला एकलमा एपिएफकी जेसिका गुरुङ, सेनाका अनुमाया राई, रशिला महर्जन र अमिता गिरीले सेमिफाईनलमा स्थान बनाए ।
जेशिकाले एपिएफकी प्रेक्षा राईलाई २१-६, २१-४, अनुले कैलालीकी प्राथना देउवालाई २१-७, २१-१२, रशिलाले सुनसरी ब्याडमिन्टन क्लबकी २१-१५, २१-१०ले तथा अमिताले एपिएफकी सुनयना मुखियालाई २१-१६, २१-१२ ले पराजित गरे ।
ब्वाईज यू-१७ तर्फ सेनाका भोज बहादुर गुरुङले दाङ्गका हिमांशु कवार मगरलाई २१-१३, २१-१० ले पराजित गर्दै सेमिफाईनलमा कपिलबस्तुका रोहित बरालसंगको भेट पक्का गरेका छन् ।
रोहितले सेनाका आयुष्मान नागरीलाई २१-१०, २१-९ ले पराजित गरेका थिए । यस्तै सेनाका हिामाल चन्द दाङ्गका सुरज गुप्तालाई २१-१५, २१-६ ले पराजित गर्दै सेमिमा सुर्खेतका नरेन्द्र बामसंगको भेट पक्का गरेका छन् ।
बामले कञ्चनपुरका बिवेक चौधरीमाथि १९-२१, २१-१६, २५-२३ को जित निकाले ।
गर्ल्स यू- १७ तर्फ सेनाकी रशिला महर्जनले फाईनल प्रवेशका लागि पाल्पाकी दीया शाक्यसंग प्रतिस्पर्धा गर्नु पर्नेछ । महर्जनले एपिएफकी प्रेक्षा राईलाई २१-४, २१-९ तथा दीयाले कैलालीकी प्रेयांशी बमलाई २१-९ को समान अन्तरले पराजित गरेकी थिईन् ।