काठमाडौं । नेपालको नम्बर एक खेलाडी रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् ।
शुक्रबार भएको पुरुष एकलको अन्तिम-१६ को खेलमा रत्न आफ्नै क्लबका हिमाल चन्दसंग पराजित भएका हुन् ।
प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका रत्न २१-१६, १३-२१ र १२-२१ ले पराजित भए ।
खेलपछि रत्नले पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको बताए ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका पूर्व नंम्बर एक खेलाडी बिकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपिएफका दीपेश धामी रहेका छन् ।
यु १७ ब्वाईज तर्फ सेनाका भोज बहादुर गुरुङ्ग, दाङ्गका हिमांशु कवार मगर, कपिलबस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङ्गका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कंचनपुरका बिवेक चौधरी र सुर्खेतका नरेन्द बामले पनि अन्तिम ८ मा स्थान बनाए ।
राष्ट्रिय बरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महताको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोज बहादुर गुरुङ्ग र दीवस शंकर जोडी पनि क्वाटरफाईनल प्रवेश गरेका छन् ।