काठमाडौं । टिम टेनिस नेपाल इनअगरल जुनियर प्रिमियर टेनिस प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ ।
टेनिस टिम नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।
धापाखेलस्थित आयोजकको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिता फागुन ७ सम्म हुनेछ ।
प्रतियोगितामा यू-८,यू-९,यू-१०, यू-१२, यू-१४ र यू-१६ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
यू-९ को उमेर समूहमा ब्वाइज गर्ल्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । बाँकी उमेर समूहमा ब्वाइज र गर्ल्सको सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै यू-८ देखि यू-१६ मा सहभागीहरुको खुल्ला डबल प्रतिस्पर्धा समेत हुनेछ ।
प्रतियोगितामा १ सय २९ जना खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिता संचालनको लागि १ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
नेपालले सागमा पहिलो पटक पदक जितेको र त्यस उत्साहलाई निरन्तरता दिन अभिभावकसँग मिलेर प्रतियोगिता आयोजना गर्न लागेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी गराए ।
नेपाल लनटेनिस एसोसिएसनका महासचिव मनोहर दास मूलले प्रतियोगितालाई संघले सहयोग गर्ने बताए ।