एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहीबार भएको खेलमा अमेरिकी खेलाडी माइकल मोहलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
दोस्रो वरीयतामा नाडालले विना वरीयताका खेलाडीमाथि ६-१,६-४ र ६-२को सेटमा जित निकाले ।
नाडालले एक पटक अष्ट्रेलियन ओपन जितेका छन् । उनले सन् २००९ मा उपाधि जितेका थिए ।
यस्तै चौंथो वरीयताका डानिल मेदभेदेव पनि तेस्रो चरणमा पुगेका छन् ।
डानिलले स्पेनका रोबर्टोलाई ६-२,७-५ र ६-१ ले हराए ।
महिलातर्फ विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
बार्टीले अष्ट्रेलियाकै डारिया ग्राभीलोभालाई पराजित गरिन् ।
तेस्रो चरणमा पुग्ने क्रममा बार्टीले डारियामाथि ६-१ र ७-६ (९-७) को जित निकालिन् ।
छैटौं वरियताकी कारोलिना प्लिस्कोभा र १८ औं वरियताकी एलिस मेर्टेन्सले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
साविक विजेता सोफिया केनिन भने प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
चौथो वरियताकी अमेरिकी खेलाडी केनिन स्टोनियाकी किया कानेपीसँग ६-३ र ६-२ ले पराजित भईन् ।