काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुरुष खेलाडीले मात्र सहभागिता जनाउन पाउने हाफ म्याराथन आयोजना गर्ने भएको छ । संविधान दिवसको अवसरमा राखेपले असोज २ गते हाफ म्याराथन गर्ने भएको हो ।
म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लबका साथै अन्य गरी करिब १ सय पुरुष खेलाडीको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी गराए ।
म्याराथनमा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार पाउने छन् । चौथो हुनेलाई १० हजार नगद प्रदान गरिने छ भने पाँचौं र छैटौं हुनेलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।
म्याराथन त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ त्रिपुरेश्वर चोक, थापाथली, माईतीघर, बबरमहल, मिनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नया“ ठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी तीनकुने हु“दै पुनः सोही रुट हु“दै त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुंगिने छ ।
संविधान दिवसकै अवसरमा नेपाल रातो र नेपाल नीलो टिम बनाएर टी– २० मैत्रीपूर्ण क्रिकेट पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए । असोज २ गते नै हुने मैत्रीपूर्ण क्रिकेट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।