एजेन्सी । विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार भएको खेलमा अमेरिकन खेलाडी फ्रान्सिस टिफोलाई हराउँदै जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
साविक विजेता समेत रहेका जोकोभिचले फ्रान्सिसलाई ६-३, ६-७ (३-७), ७-६ (७-२) र ६-३ को सेटमा पराजित गरे ।
यस्तै तेस्रो वरीयताका डोमिनिक थिमले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।
अष्ट्रियाका थिमले डोमिनिक कोइपफरलाई ६-४, ६-० र ६-२ को सेटमा हराए ।
पूर्व च्याम्पियन स्टान वावरिन्का भने बाहिरिएका छन् ।
स्विस खेलाडी स्टानलाई हंगेरीका मार्टोनले पराजित गरे ।
महिलातर्फ पूर्व विश्व नम्बर एक सेरेना विलियम्स तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
दोस्रो चरणको खेलमा सर्बियन खेलाडी निना स्टोजानोभिचलाई पराजित गर्दै सेरेनाले तेस्रो चरणमा स्थान बनाएकी हुन् ।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले निनामाथि ६-३ र ६-० को सेटमा जित निकालिन ।
स्पेनकी गार्बिन मुगुरुजाले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
१४ औं वरियताकी गार्बिनले रुसकी लुडमिला साम्सोनोभालाई ६-३ र ६-१ को सेटमा पराजित गरिन् ।
जापानकी ओसाका नाओमी पनि तेस्रो चरणमा पुगेकी छिन् ।
चेक रिपब्लिककी पेट्रा कभिटोभा भने दोस्रो चरणबाटै बाहिरिएकी छिन् ।
नवौं वरीयताकी पेट्रालाई रोमानियाकी सोराना कर्स्टियाले ६-४,१-६ र ६-१ को सेटमा पराजित गरिन् ।