धादिङबाट १५ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार धादिङ जिल्ला फुटबल संघले १५ खेलाडी छनोट गरेको छ ।
एन्फाको कार्यक्रम अनुसार धादिङ जिल्लाले शनिबार एक कार्यक्रम आयोजना गर्दै १३ वर्ष मुनिका १५ खेलाडी छनोट गरेको हो ।
एन्फाले आगामी वर्ष ७८ सालको लागि एन्फा होस्टेलसहित क्लब एकेडेमी संचालनका लागि आफ्ना जिल्ला संघहरुलाई १३ वर्ष मुनिका खेलाडी छनोट गर्न सूचना जारी गरेको थियो ।
गजुरी गाउँपालिकास्थित गलौदी मैदानमा एन्फा धादिङ प्रशिक्षक दिपक रानाले खेलाडी छनोट गरेका हुन् ।
धादिङ जिल्ला फुटबल संघका महासविच रामहरि थापाले वर्षाले प्रभावित भएको छनोटमा जिल्लाभरबाट ६० खेलाडी सहभागी भएको र जसबाट १५ खेलाडी छनोट भएको खेलपाटीलाई बताए ।
‘वर्षाले गर्दा जम्मा ६० खेलाडीमात्रै सहभागी भए । जसबाट टोली बनाएर खेल खेलाउँदै छनोट गरेका हौं,’ उनले भने ।
अब, धादिङबाट छनोट हुने खेलाडीले प्रदेश छनोटमा छनोट भएर मात्रै एन्फासम्म पुग्नेछन् ।
हाल एन्फाले उपत्यकामा एक सहित धरान र बुटवलमा एकेडेमी संचालन गर्दै आईरहेको छ । यस्तै एन्फाले विभागीय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब) सँग एकेडेमी संचालनका लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार प्रत्येक टोलीले एन्फाबाट छनोट भएका ७ खेलाडीलाई एकेडेमीमा राख्नुपर्नेछ ।
धादिङबाट छनोट भएका खेलाडी -
सुदिप तामाङ, हिमाल गुरुङ, पावल तामाङ, सुवास बि क, महेश तामाङ, ईश्वर ओली, समिर लामा, शिशिर जिसी, ईशान तामाङ, अरुण तामाङ, विशोक तामाङ, दिपेन गुरुङ, विवेक तामाङ, विराट तामाङ, अमिर लामा