रश्मीको ह्याट्रिकमा आर्मीको फराकिलो जित

काठमाडौं । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् ।
यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले १९ औं मिनेटमा रश्मीको गोलबाट अग्रता बनाएको थियो । रश्मीले चौदण्डीकी गोलरक्षक दिलशिखा विश्वकर्मासँगको वान भर्सेस वानमा गोल गरिन् ।
खेलको २३ औं मिनेटमा शर्मिलाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । शर्मिलाले बिमला चौधरीको पास सदुपयोग गरिन् ।
४० औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी पहिलो हाफमा ३-० ले अघि रह्यो । शर्मिलाले चौदण्डीको डिफेण्डर र गोलरक्षकबीचको तालमेल नमिलेको फाईदा उठाईन् ।
दोस्रो हाफमा आर्मीले थप ६ गोल गर्यो ।
खेलको ५२ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन् ।
खेलको ६० औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गर्दा आर्मी ५-० ले अघि रह्यो ।
रश्मीले खेलको ६३ औं व्यक्तिगत चौंथो गोल गर्दा आर्मीको अग्रता ६-० को बन्यो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेकी भुजुङ्गाले फ्रिकिकबाट ७८ औं मिनेटमा गोल गर्दै आर्मीलाई ७-० को अग्रता दिलाईन् ।
खेलको ८८ औं मिनेटमा अन्जलीले गोल गर्दा आर्मी ८-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा चौदण्डीकी विदेशी खेलाडी एमित लेप्चाले आत्मघाती गोल गरेपछि आर्मीले ९-० को सहज जित निकालेको हो ।
आर्मीविरुद्ध चौदण्डीले ४ विदेशी खेलाडीलाई मैदान उतारेको थियो ।
चौदण्डीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो ।
जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ ।
चौदण्डीको यो लगातार सातौं हार हो ।
चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेलाडीहरु गोल गर्न हतारिएको कारण सोचेको जस्तो खेल नभएको बताए ।
'पछिल्लो खेल भन्दा आज स्कोरमा समस्या भयो । उनीहरुको गोलरक्षक र डिफेन्स बलियो देखियो,' उनले भने, 'हाम्रा खेलाडी छिटो गोल गर्न हतारिए । त्यसैले गोल कुर्नु पर्याे । पछि मौका अवसर सदुपयोग भयो ।'
चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले नयाँ खेलाडीको आगमनले खेलमा सुधार आएको तर टिम सेट नभएको बताए ।
'नयाँ चार जना खेलाडी थिए । घाईते भएर सुरुवातमै स्ट्राइकरलाई निकाल्नुपर्याे । नयाँ खेलाडीसँग भिज्न समय लाग्यो,' उनले भने, 'प्रदर्शनमा केहि सुधार भएको छ । आज मिस पास बढी भयो । मौसमले गर्दा समस्या भयो । अबको खेल सुधारिएको देख्न पाउँछौं ।'