‘रोनाल्डोले सधै चकित पार्छन्’

एजेन्सी । युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले क्रिस्टियानो रोनाल्डोले आफुलाई अभ्यासमा सधै चकित पार्ने बताएका छन् ।
शुक्रबारमात्र ३६ वर्ष पुगेका रोनाल्डोले अझैपनि आफुलाई सधै अभ्यासमा चकित पार्ने पिर्लोले बताएका हुन् ।
बढ्दो उमेरका बीच रोनाल्डोको प्रर्दशन तल झर्ने लक्षण नदेखिएको उनी बताउँछन् ।
सबै प्रतियोगितामा लगातार ५ खेलमा जित निकाल्ने क्रममा कोपा इटालियाको पहिलो लेगमा युभेन्ट्सले ईन्टर मिलानलाई गत मंगलबार २–१ ले पराजित गरेको थियो । युभेन्टसको दुवै गोल रोनाल्डोले गरेका थिए ।
पोर्चुगलका रोनाल्डो सिरि एको तालिकामा १५ गोल सहित यस सिजन समेत सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् ।
युभेन्ट्सका प्रशिक्षक पिर्लो अझैपनि पछ्याउनका लागि रोनाल्डो उदाहरण रहेको बताए ।
‘मलाई थाहा थियो, उनी पहिलापनि कति व्यवसायीक थिए । तर अझैपनि सधै उनी जसरी अभ्यास गर्छन्, त्यसले मलाई प्रभावित बनाउँछ ।’ पिर्लोले भनेका छन् ।
‘उनीमा अझैपनि धेरै प्यास छ । उनी रमाईलो गर्छन्, उनी जित्न चाहन्छन् । यो मुख्य कुरा हो, जब तपाई ३६ वर्षमा फुटबल खेल्नु हुन्छ । जब तपाई सबै जिति सकेको हुनुहुन्छ र सबै कीर्तिमान भंग गरिसक्नु भएको हुन्छ ।’ उनी थप्छन् ।
‘यदी अझैपनि तपाईमा यो भोक र लक्ष्य छ भने तपाई सच्चा नायक हो ।‘ उनले भने ।
पिर्लो नेतृत्वको युभेन्ट्स सिरि एको चौथो स्थानमा छ । लिग लिडर ईन्टर भन्दा युभेन्ट्स ८ अंकले पछि छ ।
पिर्लो अझै उपाधिको दौड खुल्ला रहेको मान्छन् ।
‘मिलान, ईन्टर, रोमा, नापोली र एटलान्टा सबै उपाधि दौडमा छन् । यो निकै कठिन छ । तर हामी यसलाई जित्नका लागि कोशिश कायम राख्छौं ।’ उनी भन्छन् ।