काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली खेलकुद क्षेत्र फेरि जुर्मुराएर उठ्ने बताएका छन् ।
मंगलबार खेलकुदसंग प्रधानमन्त्री कार्यक्रममा उनले कोरोनाका कारण समग्र क्षेत्र अस्त व्यस्त बनेको उल्लेख गर्दै खेलकुद क्षेत्र अब अघि बढ्ने बताए ।
खेलकुद क्षेत्रसंग अन्तरक्रिया गराउने उद्धेश्यले राष्टिय खेलकुद परिषद राखेपले खेलकुदसंग प्रधानमन्त्री कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले क्षमता अनुसार खेलकुद क्षेत्रलाई सहयोग गर्न सधै तयार रहेको बताएका थिए ।
'खेलकुदमा हुने अभ्यासलाई जित्ने तहमा उठाउन जरुरी छ,' प्रधानमन्त्री ओलीले भने, 'खेलकुदलाई आवश्यक पर्ने चिज उपलब्ध गराउन सरकार गच्छे अनुसार सहयोग गर्न तयार छ ।'
उनले हार जितको ठुलो महत्व हुने उल्लेख गर्दै त्यसले मनोबैज्ञानिक रुपमा प्रभाव पार्ने बताए ।
उनले नेपालले लडाँईको मैदानमा कहिल्यै नहारेको उल्लेख गर्दै खेलकुदले समेत हार्न नहुने सुझाव दिए ।
'ईतिहास कहिल्यै नहार्ने खालको छ । तोप, गोला, बारुद, काटमारसंग कहिल्यै नहार्ने । अंग्रेजलाई खुकुरीले जितिदिने ईतिहास छ । राष्टिय युद्ध सधै जित्ने तर खेलकुदमा हार्ने अवस्थालाई जित्ने तहमा उठाउन जरुरी छ,' उनले भने ।
उनले खेलकुद क्षेत्रमा गरिने लगानीले आफ्नै तरिकाले प्रतिफल दिने बताए । 'खेलकुद उत्पादक कि अनुत्पादक भन्ने बहस छ । जसले देशको गौरब बढायो, त्यही उत्पादक हो,' उनले भने, 'खेलकुदमा गरिने लगानीले प्रति ब्यक्ति आय र कुल ग्राहस्त उत्पादन बढाउँदैन । यसले आफ्नै खालको प्रतिफल दिन्छ ।'
प्रधानमन्त्रीले अन्तरक्रियाका क्रममा दुई वर्षभित्र भलिबलको अन्तराष्टिय स्तरको कभर्डहल बन्ने तथा राखेपमा देखिएको अस्थायी कर्मचारीको व्यवस्थापन र बढुवाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।