काठमाडौं । फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् ।
कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो । उक्त विधाको विजेताको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिएको थियो ।
इदिताले सहभागी मध्ये सर्वाधिक १० हजार ९ सय २० भ्युज पाइन् । इदिताले पुरस्कार वापत १ सय ५० अमेरिकी डलर प्राप्त गरिन् । इदितालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले नगद पुरस्कार हस्तान्तरण गरेको आयोजकले जनाएको छ ।
नगद पुरस्कारको प्रायोजक पनि गुरुङ नै हुन् । इदिता फिलिपिन्सको भएपनि केहि वर्षएता हङकङमै बस्दै आएकी छन् । इदिता युनिटीमै प्रशिक्षणरत छिन् ।
कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालित उक्त प्रतियोगितामा फिलिपिन्सकै चन्दा रोमेरिया (९११६ भ्युज) दोश्रो, फिलिपिन्सकी आइरिल भर्जोला (४८७८ भ्युज) तेश्रो तथा अमेरिकाकी जियाना थापा (४४५२ भ्युज) चौथो भए ।
प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले पुम्सेतर्फ ६० र हाइ स्पिडतर्फ ३० गरी ९० स्पर्धामा सहभागिता जनाएका थिए । पाराको पनि छुट्टै प्रतिस्पर्धा गराइएको थियो ।