काठमाडौं । नेपालका तोरस रावत र सलोनी तामाङले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुआत गरेका छन् । सिंगल्सको पुरुषमा तोरस र महिलामा सलोनीले विजयी सुरुआत गरेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंगबहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सलोनीले भारतकी कृष्ति बोरोलाई ६–३ र ६–४ को सीधा सेटमा हराइन् ।
पहिलो दिन पुरुष सिंगल्स नेपालबाट निश्चल कायश्थ, प्रसिद्ध मोक्तान, आर्यन गिरी, अकी जुवेन रावत, निशान श्रेष्ठ, आरभसम्राट हाडा, इभ्येक जोशी, प्रितम परियार र चिराग तिमिल्सिनाले पनि प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।
त्यस्तै महिला सिंगल्समा नेपालको चुनौती प्रस्तुत गरेका सर्वानी श्रेष्ठ, श्रेया भट्टराई, प्रेरणा कोइराला, इशाश्री शाह र अजा रेग्मीले पनि प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।
प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाकस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् ।
नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।