काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
सिराहाको गोलबजारमा शनिबार पुरुषको एकलतर्फको सेमिफाइनलमा नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङलाई पराजित गर्दै प्रिन्स उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आर्मीका रत्नमाथि २१-१४, १५-२१, २१-१५ को जित निकाले ।
आठ पटकको विजेता रत्नमाथि प्रिन्सको यो लगातार दोस्रो जित हो । यस अघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक राशिको प्रतियोगितामा पनि पराजित गरेका थिए ।
अब उपाधिका लागि प्रिन्सले एपिएफका दिपेश धामीको सामना गर्नेछन् ।
धामीले सेनाका प्रफुल महर्जनलाई २१-१२, १८-२१, २१-१२ ले पराजित गरे ।
प्रतियोगिताको महिला १२ वरीयताको स्पर्धामा जेशिका गुरुङ फाइनल प्रवेश गरिन् । एपिएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१-१३, २१-१५ ले पराजित गरिन् ।
फाइनलमा जेशिकाले आर्मीकी रशिला महर्जनको सामना गर्ने छिन् । रशिलाले आर्मीकै अमिता गिरीमाथि २१-६, १८-२१, २१-१२ को जित निकालिन् ।