काठमाडौं । त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनलमा प्रवेश गरेका छन् ।
सिराहाको गोलबजारमा शनिबार भएको सेमिफाइनलमा आर्मीकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै सुरोज र पविनको जोडी उपाधि नजिक पुगेका हुन् । सुरोज र लिनथेपको जोडीले १८-२१, २१-१५, २१-१३ को जित निकालेको हो ।
अब सुरोज र पविनको जोडीले आर्मीकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१-१०, २१-१६ को जित निकाले ।
१६ वरीयता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर उपाधिका लागि भिड्ने भएका छन् ।
देवराजले सेनाका डेभिड थापामगरलाई २४-२२, २१-१८ ले तथा शंकरले एपिएफका भेट्रान खेलाडी ईन्द्र बहादुर महतालाई २१-६, २१-१२ ले पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् ।
यस्तै महिलाको १२ वरीयता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवाले जित निकालिन । उनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१-१२, २०-२२, २१-१९ ले पाखा लगाईन् ।
अब देउवाले उपाधिका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । राईले एपिएफकी प्रक्षा राईलाई २१-१३, २१-११ ले पराजित गरिन् ।
ब्वाईज यू -१७ एकलमा सेनाका भोज बहादुर गुरुङ र आयुष्मान नागरी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
भोजले पाँचथरका एशिया जवेगुलाई २१-१४, १४-२१, २१-१४ ले तथा आयुष्मानले १७-२१, २१-१९, २१-१७ ले पराजित गरे ।
गर्ल्स १७ मा राष्टिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१-३, २१-१ को सहज जित निकालिन् ।
रशिलाले उपाधिका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्ने छिन् ।
रोजले कैलालीकी प्राथना देउवालाई महिला एकलमा भएको हारको बदला लिंदै २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरिन् ।