काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा नेपाली सेनाका रत्नजित तामाङ र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहामा जारी योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिराहाको गोलबजारमा शुक्रबार भएको क्वाटरफाईनलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१-१८, २१-१८ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
अब रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
यस्तै आर्मीका फुल महर्जनले एपिएफका गौतम कठायतलाई ९-२१, २१-१६, २१-१३ले पराजित गर्दै सेमिफाइनलमा एपिएफका दिपेश धामीसंगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१-१३, २१-९ ले पराजित गरे ।
महिलातर्फ भोजपुरकी नङ्गशलदेवी तामाङले एपिएफकी शोभा गौचनलाई २१-६, २१-१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् ।
उनले सेमिफाइनलमा जेशिका गुरुङको सामना गर्नेछिन् । एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१-९, २१-१७ ले पन्छाईन् ।
यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१-१७, २१-७ ले पराजित गर्दै आर्मीकै अमिता गिरीसंगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१-१६, २१-९ ले पराजित गरिन् ।
शीर्ष १६ वरीयता बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका बिशाल तामाङ्गलाई २१-१३, २१-१५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।
यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई २१-१३, २२-२०, कैलालीका देवराज रानाले पाँचथरका एशिया जबेगुलाई २१-११, २३-२१ले, कञ्चनपुरका बिवेक चौधरीले सेनाका गोकुल जोरालाई २१-१४, २०-२२, २१-१४ले, सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१-१५, ११-२१, २१-७ले, एपिएफका ईन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१-१७, २१-८ले, सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१-१५, २१-१२ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१-१६, २१-१५ ले पराजित गरे ।
महिलातर्फ खोटाङकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।