पोखरा । पोखराको सहारा एकेडेमीका बालकहरुले जापानबाट जर्सी सेट सहयोग प्राप्त गरेका छन् ।
जापानको सामाजिक संस्था एन.पि.ओ.गोजो हिरोकी इकेदा ग्रुपले सहारा एकेडेमीका बालकलाई ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोग गरेका छन् ।
ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई उक्त सहयोग एकेडेमीमै पुगेर सोमबार हस्तान्तरण गरेका छन् ।
होकुतो कम्पनी लिमिटेड, इगुसी कम्पनी लिमिटेड र पेइवा कम्पनी लिमिटेडको प्रायोजनमा उक्त सहयोग प्राप्त भएको ग्रुपका नेपाल संयोजक तुलाधरले बताए ।
सहारा एकेडेमी नेपालकै नमुना क्लबको रुपमा रहेकोले आफुहरुले सानो सहयोग गरेको उनले जनाए ।
क्लबका अध्यक्ष थापाले जापानबाट क्लबलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिदै विभिन्न सहयोगी दाताको कारण एकेडेमी निरन्तर संचालन हुदै आएको बताए ।
सहारा एकेडेमीमा हाल करिब १३ जिल्लाका २३ जना बालकहरु रहेको क्लबले जनाएको छ ।