बिर्तामोड । चौंथो संस्करणको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुनमा आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आइतबार पत्रकार सम्मेलन गर्दै स्पोर्टस अवार्ड फागुन २८ गते हुने जानकारी गराएको छ ।
बिर्तामोडमा आयोजना हुने कार्यक्रममा २०७६ सालमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
अवार्ड फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । कार्यक्रममा साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिनेछ ।
वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।
वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।