बुटवल । कुमार ठकुरी र जनक क्षेत्रीको जोडीले स्वर्गीय किरण गुरुङ स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
रुपन्देहीमा शनिबार भएको फाइनलमा नविन गुरुङ र रुक बहादुर थापाको जोडीलाई २१-१७ र २१-१४ को सेटमा पराजित गर्दै कुमार र जनकको जोडी च्याम्पियन बनेका हुन् ।
उपाधिसँगै कुमार र जनकको जोडीले २१ हजार १ सय ११ रुपैया प्राप्त गरे । उपविजेता बनेका नविन र रुकको जोडीले ११ हजार १ सय ११ रुपैयामा चित्त बुझाए ।
यस्तै रन बहादुर सारु र लक्ष्मण गुरुङ तथा अनिल बिके र लक्ष्मण रानाको जोडी तेस्रो भए । उनीहरुले ५ हजार १ सय ११ रुपैया प्राप्त गरे ।
नव ज्योति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा लक्ष्मण राना उत्कृष्ट खेलाडी घोषित भए । किरण थापा उदयमान खेलाडी चुनिए ।
विजेतालाई लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा पर्यावरण मन्त्री लिला गिरीले पुरस्कृत गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष दिपेश कंडेलले चाडै क्लबले २ कोर्ट भएको ब्याडमिन्टन हलको निर्माण गर्ने योजना बनाएको बताए ।