काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
६ स्वर्ण, २ रजत र ४ कांस्यसाथ एनटीए समग्रमा टिम च्याम्पियन बनेको हो ।
सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान ३–३ स्वर्ण, रजत र कांस्यसहित नेपाल प्रहरी दोश्रो भयो । १ स्वर्ण, २ रजत र ४ कांस्य जितेको आयोजक सैलुङ तेश्रो स्थानमा रह्यो ।
पुरुष १८–३० वर्षमा जितबहादुर बोट ७.१३ तथा ३१–४० वर्षमा कमल श्रेष्ठ ७.१६ अंकसाथ पहिलो भए । प्रहरीका दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता हुन् ।
पुरुष ४१ वर्षमाथि एनटीएका मधुसुधन सापकोटा ५.८६ अंक जोड्दै पहिलो स्थानमा रहे । महिला १० वर्षमा आयोजक सैलुङकी रेणुका तामाङ पहिलो भइन् । रेणुकाले ५.७३ अंक जोडिन् । महिला १२ वर्षमा गोदावरी फिट्नेसकी सर्गम थापा पहिलो बनिन् । सर्गमले ६.२३ अंक बटुलिन् ।
महिला १७ वर्षमा कपन तेक्वान्दो डोजाङकी सरिस्मा मगर ५.८३ अंकसाथ पहिलो भइन् । पुरुष १७ वर्षमा ५.५५ अंक जोडेका एनटीएका विवेक श्रेष्ठले शीर्ष स्थान हात पारे ।
प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक खड्का, नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो । उनीहरुलाई सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल, आयोजक डोजाङका अध्यक्ष बुद्धवीर घिसिङ, सैलुङ गाउँपालिका वडा ३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।