काठमाडौं । ब्याडमिन्टनका उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उदेश्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) संचालनमा आएको छ ।
ललितपुरको नक्खुस्थित बुल्स इन्डोर स्पोर्ट्स हलमा शुक्रबारबाट केबीए संचालनमा आएको हो ।
गैर–नाफामूलक संस्थाको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उच्च पार्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी संचालनमा ल्याईएको हो ।
राष्ट्रिय प्रतियोगितामा ३ पटकको च्याम्पियन रीता अधिकारी विष्टको अध्यक्षतामा एकेडेमीको स्थापना गरिएको हो । नेपाली ब्याडमिन्टनमा पहिलो पुस्ताका महिला खेलाडी रहेकी विष्ट बिस २०३१, ०३२ र ०३४ सालमा राष्ट्रिय च्याम्पियन भएकी थिइन् ।
यस्तै बिस २०३७, ०३९ र ०४० सालकी राष्ट्रिय च्याम्पियन शान्ति मानन्धर एकेडेमीको संस्थापक सदस्य रहेकी छिन् । मानन्धर प्रशिक्षकको रुपमा समेत कार्यरत रहेकी छिन् ।
एकेडेमीको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा रहेका छन् । थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत हुन् ।
रियो ओलम्पिक २०१६ मा निर्णायकको भूमिका निर्वाह गर्ने एकमात्र नेपाली रहेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्नुहुनेछ ।
एकेडेमीका उपाध्यक्ष रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ रहेका छन् ।
यस्तै एकेडेमीले ट्रेनिङ हलको लागि बुल्स इन्डोर स्पोर्ट्स हलसँग सम्झौता समेत गरेको छ ।
एकेडेमीको मुख्य प्रशिक्षकमा बालकृष्ण थापा रहेका छन् । पूर्वराष्ट्रिय खेलाडी समेत रहेका थापाले ओलम्पिक सोलिडारिटी कोर्स गर्नुका साथै प्रशिक्षकको रुपमा २० वर्षयता सक्रिय रहेका छन् ।
पुरुषोत्तम ढकाल एकेडेमीको प्रशिक्षक रहेका छन् । पूर्वराष्ट्रिय खेलाडी रहेका उनी बीडब्लुएफ लेवल १ प्रशिक्षक र प्रशिक्षकको रुपमा १० वर्षयता सक्रिय छन् ।
एकेडेमीले सामान्य र व्यवसायिक प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाएको छ ।