काठमडौं । चौथो संस्करणको नेपालगन्ज म्याराथनको तयारी सुरु भएको छ । 'शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणको हाम्रो प्रतिबद्धता' भन्ने मुल नाराकासाथ प्रतियोगिताको तयारी सुरु गरिएको हो ।
म्याराथनको चौथो संस्करणमा सहभागिता जनाउन दर्ता आवेदन आज (बिहिबार) बाट खुला गरिएको आयोजक क्रिएटिभ ह्याण्ड्सले जनाएको छ ।
दर्ता फारम मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, बाँके जिल्ला एथ्लेटिक्स संघको कार्यालय तथा न्युरोडस्थित क्रियटिभ ह्याण्ड्सको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
म्याराथनको मुख्य प्रायोजकको रुपमा ब्राइटल्याण्ड स्कुल यथावत रहने र प्रतियोगिताको नाम ब्राइटल्याण्ड नेपालगञ्ज म्याराथन राखिने आयोजकले जानकारी दिएको छ ।
दश बर्षे सशस्त्र द्धन्दद्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिनको स्मरणमा प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुदै आएको छ ।
प्रतियोगितालाई भब्य र व्यवस्थापनलाई चुस्त बनाउन चौथो संस्करणको प्रतियोगितामा पुरस्कार राशीमा वृद्धि गरिएको आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए ।
म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर र महिला खुल्लातर्फ २१ किलोमिटर स्पर्धा समावेश गरिएको छ । त्यस्तै विद्यालयस्तरीय पाँच किलोमिटर छात्र र छात्रा दौडपनि प्रतियोगितामा समावेश गरिएको छ । आयोजकले यसपटक प्रतियोगितामा दुई हजार जनालाई सहभागि गराउने लक्ष्य लिएको छ ।
अध्यक्ष ठकुरीले नेपालगञ्जको चिनारीको रुपमा विस्तार हुँदै गएको म्याराथनलाई राष्ट्रियस्तरको भव्य प्रतियोगिताको रुपमा स्थापित गर्ने योजना रहेको बताए छन् ।