एजेन्सी । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्सको पेरिसमा शुक्रबार राति भएको क्वाटरफाइनलमा स्पेनकै पाब्लो बुस्टालाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
हालै १ हजार जितको कोशेढुंगा पुरा गरेका नाडालले बुस्टालाई ४-६,७-५ र ६-१ को सेटमा पराजित गरे ।
नाडाल टेनिसमा १ हजार जित निकाल्ने चौंथो खेलाडी हुन् । यस अघि जिमी कोर्नर्स, रोजर फेडेरर र इभान लेन्डेलले हजार जितको कोशेढुंगा पार गरेका थिए ।
नाडालले गत महिना मात्र २० औं ग्राण्डस्लाम टेनिसको उपाधि जितेका थिए । फ्रेन्च ओपनको उपाधि जित्दै नाडालले फेडेररले बनाएको सर्वाधिक धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका थिए ।
नाडालले अब सेमिफाइनलमा चौंथो वरीयताका एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन् ।
जेभरेभ स्टान वावरिन्कालाई ६-३ र ७-६ (७-१) को सेटमा पराजित गरे ।