एजेन्सी । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल १ हजार जित निकाल्ने टेनिसका चौंथो खेलाडी बनेका छन् ।
फ्रान्समा जारी पेरिस मास्टर्स टेनिस अन्तर्गत बुधबार राति स्पेनकै फेलिसियानो लोपेजलाई पराजित गर्दै नाडालले १ हजार जितको कोशेढुंगा पुरा गरेका हुन् ।
पेरिसमा भएको खेलमा नाडालले लोपेजमाथि ४-६, ७-६ (७-५) र ६-४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले हजार जितको यात्रा तय गर्न सफल भए ।
टेनिसमा १ हजार जित निकाल्ने अन्य खेलाडीमा जिमी कोर्नर्स, रोजर फेडेरर र इभान लेन्डेल रहेका छन् ।
अमेरिकी लिजेण्ड जिमीले १ हजार २७४ खेल जितेका छन् । यस्तै स्विस फेडेररले १ हजार २४२ खेल जित्दा चेक रिपब्लिकका इभानले १ हजार ६८ खेल जितेका छन् ।
'यो नम्बरमा आईपुग्न मैले धेरै कामहरू राम्ररी गरेको हुनुपर्दछ,' हजार जितको उपलब्ध पुरा गरेपछि ३४ वर्षीय नाडालले भनेका छन् ।
नाडालले गत महिना मात्र २० औं ग्राण्डस्लाम टेनिस जितेका थिए । फ्रेन्च ओपनको उपाधि जित्दै नाडालले फेडेररले बनाएको सर्वाधिक धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका थिए ।
नाडालले पेरिस मास्टर्सको अन्तिम १६ मा अष्ट्रेलियाका जोर्डन थोम्पसनसँग खेल्ने छन् ।