पोखरा । नेपाल ह्याण्डबल संघले कोरोना भाईरसको महामारीबाट प्रभावित खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
संघले बुधबार कोरोनाबाट प्रभावित खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबलका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा ह्याण्डबल खेल विकासका लागि योगदान दिनेहरुलाई आर्थिक सहयोग गर्न लागिएको जानकारी गराए ।
संघले ह्याण्डबल संघमा रहेर लामो योगदान पुर्याउने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषा निवासी पवनलाल कर्ण, सशस्त्र प्रहरी वलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दिप कार्की, उदयपुर निवासी अन्तर्राष्ट्रिय खेलाडी मात्रिका राई, जुनियर अन्तर्राष्ट्रिय खेलाडी सुर्खेतका भुवन शाही, ह्याण्डबलका पूर्व खेलाडी सिरहाका रञ्जित सिंहलाई आर्थिक सहयोग गर्ने जनाएको छ ।
संघले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद ५० हजार प्रदान गर्ने भएको छ । निजी विद्यालयमा कार्यरत कर्ण कोभिडका कारण जागिर गुमेकोले संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
त्यसै गरि कोरोनाबाट संक्रमित भई निको भएका अन्तर्राष्ट्रिय खेलाडी कार्की, अन्तर्राष्ट्रिय खेलाडी राई र जुनियर तर्फका अन्तर्राष्ट्रिय खेलाडी शाहीलाई नगद २०–२० हजार तथा सिरहाका पूर्व खेलाडी रञ्जित सिंहलाई नगद १५ हजार सहयोग गर्ने संघले जनाएको छ ।
संघले यस अघि ह्याण्डबलका राष्ट्रिय महिला तथा पुरुष खेलाडी र रेफ्रीहरु गरी १ सय ८० जनाको कोरोना बिमा समेत गरिसकेको छ ।