काठमाडौं । ज्ञान सागरका विकिन पोखरेल, न्युटनकी अपेक्षा थापा र न्युटनकै करण चौधरीले ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विकिन सिनियर ब्वाइज, अपेक्षा सिनियर गल्र्स र करण जुनियर ब्वाइजमा पहिलो भए ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना तथा पुष्पकुञ्ज हाइ स्कुलको संयोजनमा भएको प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा विकिनले पुष्पकुञ्जका प्रतीक गुरुङलाई ११–५, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा अपेक्षाले फेरिल्यान्डकी लाक्भूति शेर्पालाई ११–३, ११–७ र ११–८ को सीधा सेटमा हराइन् । जुनियर ब्वाइजमा करणले श्री ज्ञान सागरका राज वाइबालाई ११–९, ११–६, ९–११, ३–११ र ११–७ को सेटमा फाइनलमा पाखा लगाए ।
विजेतालाई काठमाडौं महानगरपालिका शिक्षा विभागका श्रोत व्यक्ति रुद्र कार्की, पुष्पकुञ्जका प्रिन्सिपल समेत रहेका ओप्सका उपाध्यक्ष एकबहादुर आले, कौशल स्कुलका प्रिन्सिपल शिवप्रसाद अर्याललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १८ विद्यालयका ५२ खेलाडीले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।